चितवन, १२ जुन: भारतको पश्चिमी शहर अहमदाबादस्थित विमानस्थलबाट लन्डन गाटविक हुँदै उडेको एयर इन्डिया फ्लाइट १७१ जहाज टेकअफ गरेको केही पलपछि दुर्घटनामा परेको छ। यस जहाजमा कुल २४२ जना यात्री तथा क्रु सवार थिए भन्ने एयर इन्डियाले पुष्टि गरेको छ।
जहाजको अन्तिम सिग्नल टेकअफ गरेको केही सेकेन्ड पछि नै रेकर्ड भएको छ। फ्लाइट ट्र्याकिङ वेबसाइट अनुसार जहाजले ६२५ फिट उचाइ पुगेको थियो। दुर्घटना विमानस्थलको परिधिबाहिर नजिकै भएको भनिएको छ।
यात्रीहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना ब्रिटिश नागरिक (केही विवरणमा ४३ भनिएको छ), ७ जना पोर्तुगाली तथा १ जना क्यानेडियन नागरिक सवार थिए भन्ने जानकारी छ। जहाज बोइङ ७८७-८ ड्रीमलाइनर थियो, जुन आधुनिक तथा सुरक्षित विमानको रूपमा चिनिन्छ।
दुर्घटनाको स्थानमा घना कालो धुँवा उठेको तथा आगो लागेको दृश्य टेलिभिजनमा देखिएको छ। घटनास्थलमा बचाव तथा रेस्क्यु टोलीहरू पुगेका छन् भने चोटपटक लागेका यात्रीहरूलाई स्ट्रेचरमा लगिएर अस्पताल पुर्याइएको छ।
भारतको नागरिक विमानन मन्त्री राम मोहन नायडू किन्जरपुले घटनामा गहिरो आघात पुगेको बताएका छन्। उनले सबै आवश्यक एजेन्सीहरूलाई तुरुन्तै कारबाही गर्न निर्देशन दिएका छन्। “बचाव टोलीहरू तैनाथ गरिएका छन् र चिकित्सकीय सहयोग तथा राहत सामग्रीहरू घटनास्थलमा पुर्याइएको छ,” उनले भने।
Image Credit: TOI