बाजुराको कोल्टी विमानस्थलमा बुधबार एउटा रोचक दृश्य देखियो, जहाँ यात्रुहरूले हवाईजहाज धकेलिरहेका थिए।
एक यात्रुका अनुसार धावनमार्गमा राखिएको तारा एयरको हवाईजहाजको टायर पड्किएको थियो।
‘धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो। जसले गर्दा अर्को जहाज उडाउन समस्या भयो,’ यात्रु खगेन्द्र खड्काले भने, ‘त्यसपछि हामीले उक्त हवाईजहाजलाई धकेलेर साइड लगायौं।’
अहिले खड्का अर्को हवाईजहाज चढेर धनगढी आइपुगेका छन्। उनका अनुसार तारा एयरको हवाईजहाजलाई यात्रु र सुरक्षाकर्मी मिलेर ट्याक्सी–वेबाट धकेलेर छेउ लगाएका हुन्।
यति एयरलाइन्सको भगिनी कम्पनी हो तारा एयर।
उक्त हवाईजहाजले हुम्लाको सिमकोटबाट ९एन–एभिई हवाईजहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो।
हवाईजहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ।
यस विषयमा बुझ्न कोल्टी विमानस्थलमा फोन गर्दा त्यहाँ सम्पर्क हुन सकिरहेको छैन।
यता धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले तारा एयरको अर्को हवाईजहाजमार्फत टायर र इन्जिनियर लिएर बाजुरा पुगेको र टायर फिट गरिसकेपछि दुवै हवाईजहाज अहिले नेपालगञ्ज अवतरण गरिसकेको दावी गरे।