चितवन, वैशाख-७ : चितवनमा उत्पादित काँक्रो बिक्री नहुँदा किसान समस्यामा परेका छन् । जिल्लामा उत्पादित काँक्रो पाँच रुपैयाँ प्रतिकिलोका दरले समेत बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका हुन् । चितवनको भरतपुर महानगरपालिका–१८ की धनु अधिकारीले गत आइतबार आफ्नो फेसबुक पेजमा रुँदै गरेको इमोजी राख्दै स्टाटस् सहित केही फोटो पोष्ट गरिन् । उक्त पोष्टमा उनी केही कृषकका साथमा काँक्रोको थुप्रोमाथि बसेको देखिन्छन् ।
रेसुङ्गा कृषि फार्मकी सञ्चालिका समेत रहेकी अधिकारीले फेसबुकमा लेखेकी छन्, ‘समाज र राष्ट्रलाई टेवा पुर्याउँछु, आफ्नो जीवनयापन गर्छु, केही थोरै कमाउँछु र समाज सेवा गर्छु भन्ने उदेश्य बोकेर विगत ३ बर्षदेखि कृषि क्षेत्रमा आवद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज म जस्ता हजारौं किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नु परेको छ । यो जस्तो बिडम्बना के हुन सक्छ ? तपाईंहरु अनुमान लगाउन सक्नुहुन्छ ? झण्डै ३५ सय किलो काँक्रो बारीमै कुहिँदैछ । पाँच रुपैयाँमा पनि बिक्री भएन ।’ फेसबुक पोष्ट पछ्याउँदै अधिकारीको सम्पर्कमा पुग्दा बुधबार उनले चित्रवन खबरसँग काँक्रो खेतीबाट आफूले ठूलो क्षति बेहोर्नुपरेको गुनासो गरिन् ।
ऋण धन गरेर ५ बिगाहमा लगाएको हजारौं किलो काँक्रो ५ रुपैयाँ प्रतिकिलोमा पनि नबिके पछि आफ्नो गुनासो फेसबुकमा सार्वजनिक गरेको अधिकारीको भनाई छ । ‘बारीमा दुई दिन बिराएर २० क्विन्टल काँक्रो फल्छ । सधैं झैं काँक्रो बेच्न चितवनको तरकारी मण्डी जाँदा व्यँपारीले ३ रुपैयाँ किलो पाए लैजाने भने,’ अधिकारी गुनासो गर्छिन्, ‘तीन रुपैयाँमा बेच्नु भन्दा नबेच्ने भनेर काँक्रो छोडेर आएँ । अहिले बारीमा फलेको काँक्रो बारीमै कुहिन थालेको छ ।’ धनुकाअनुसार उनले फलाएको काँक्रो एमसीएच २ हाइब्रिड जातको हो । तरकारी तथा फलफूल मण्डीमा बिक्रीमा लगिएको काँक्रोलाई ब्यापारीले पानी काँक्रो भनेर होच्याउने गरेका छन् । ‘तीन रुपैयाँ किलोमा दिए मात्रै किन्छौं नत्र बिक्दैन भन्छन्,’ अधिकारी भन्छिन, ‘हामी आफैं बजार पठाउन सक्दैनौं । कुहिन दिनुको उपाय देखिएन ।’ खेतीमा गरेको लगानीअनुसार प्रतिकिलो १० रुपैयाँमा बेच्दा मात्रै काँक्रोमा नाफा बस्ने धनुले बताइन् । यसअघि पोखरा, वुटबल र काठमाडौंमा बिक्रीका लागि जाने काँक्रो यसपटक कतै पनि बिक्रीमा नगएको उनको दुखेसो छ । ब्यापारीले बाहिरबाट काँक्रो आयात गरेर हाम्रो काँक्रोको मूल्य अवमूल्ययन गरिदिएको भन्दै अधिकारीले सहयोगका लागि सरकार गुहारिन् । ‘मलाई मात्रै १० लाख रुपैयाँ काँक्रोमा घाटा हुनेवाला छ, अरु किसानको अवस्था पनि उस्तै छ अब यो रोग गोलभेडामा पनि देखिंदैछ ।’
बारीभरि लटरम्म काँक्रो फलेको तर चितवनका कुनै पनि तरकारी बजार र बिचौलियाले चितवनको काँक्रो नउठाएको उहाँको गुनासो छ । केही दिनको अन्तरमा ३५ क्विन्टलसम्म काँक्रो टिप्ने गरेको तर बिक्री नभएकाले बारीमै सडाउनुको विकल्प नभएको सञ्चालक अधिकारीले बताउनुभयो । भारतबाट सस्तोमा आएको काँक्रो व्यापारीले लुकाएर भण्डारण गरेको, चितवनमा उत्पादन धेरै भएको लगायतका कारण बिक्री नभएको हुन सक्ने उहाँको भनाइ छ ।
यो त एक उदाहरण मात्र यो , हजारौं बिगाहामा लगाइएको काँक्रोले उचित बजार मूल्य नपाउदा बारीमै कुहाउन बाध्य छन् यहाँ का कृषकहरु |

