नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा राजनीति बन्द गर्न आग्रह गर्नुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले आयोजना गरेको १० वर्षे रणनैतिक योजना सम्बन्धी कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विभिन्न बहानामा विश्वविद्यालयमा तालाबन्दी हुनु दुखद भएको उल्लेख गर्नुभयो ।
कुनै ठोस मुद्दामा अन्दोलन गर्नु पाउनु नागरिकको स्वतन्त्रता हो, तर वार्ता र छलफलको मध्यमबाट समस्याको समधान हुने विषयमा अन्दोलन गर्नु, राजनीतिकरण गर्नु र तालाबन्दी गर्ने कार्य उचित नहुने मन्त्री पौडेलले तर्क गर्नुभयो । ‘आज एउटा विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ, उहाँले भन्नुभयो,‘भोलि अर्को विश्वविद्यालयमा तालाबन्दी भएको सुनिन्छ । यो संस्कारको अन्त्य गर्नुपर्छ । वार्ताको मध्यमबाट नै समस्याको समधान गर्नुपर्छ ।’
सरकारले कृषिलाई विषेश प्रथामिकता दिईरहेकाले कृषि वन तथा विज्ञान विश्वविद्यालयलाई अनुसन्धान केन्द्रको रुपमा विकास गरी बाह्य देशका विद्यार्थी अध्ययनका लागि यहाँ ल्याउने गरी संस्थाको सुदृढीकरणमा लाग्न मन्त्री पौडेलले आग्रह गर्नुभयो । मन्त्री पौडेलले कृषि तथा वन विज्ञानको विश्वविद्यालयलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्न अहिलेको पाठ्यक्रम परिवर्तन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयलाई थप सुदृढीकरण गर्न कानुनीमा सुधार गर्नुपर्ने भए संशोधन गरेर अगाडि बढ्न सकिने उहाँको भनाई थियो ।

